कैलाली र कञ्चनपुरमा घोषणा गरिएको निषेधाज्ञा लागु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको फैलिने लहर तोड्न अर्थात ‘चेन ब्रेक’ गर्न कैलाली र कञ्चनपुरमा बिहीवार बिहानदेखि निषेधाज्ञा लगाइएको हो । यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने जनाइएको छ । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् । खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने छ ।