कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि हुनेको संख्या समेत बढ्दै गएको पाइएको छ । झण्डै डेढ महिनादेखि भारतबाट स्वदेश फर्किन लागेका नेपालीलाई गड्डाचौकी नाकामा ‘एन्टिजेन’ परीक्षण थालेको स्वास्थ्य कार्यालय कञ्चनपुरले दैनिकजसो सीमानाकामा पोजेटिभ ‘केस’ आइरहेको जनाएको छ । आफुहरुको चाहना भारतबाट आउने सबैलाई परीक्षण गर्न पाए हुन्थ्यो भन्ने भएपनि अहिले सम्भावित लक्षण देखिएका र भारतको बढी प्रभावित क्षेत्रबाट आएकालाई परीक्षण गर्नु भन्ने निर्देशन रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनु भयो ।
उहाले दोस्रो चरणको कोरोना कहरमा कञ्चनपुरमा १५ जनाले ज्यान गुमाइ सकेका बताउनु भयो । गत वर्ष र अहिले गरी २९ जनाले सङ्क्रमणबाट ज्यान गुमाइसकेका बताउदै उहाले नाकामा लक्षणविना पोजेटिभ देखिए यहाँको आइसोलेसन र लक्षणसहित गम्भीर देखिए सीमाबाट एम्बुलेन्समार्फत अस्पताल पु¥याउने गरेका बताउनु भयो ।
त्यसैगरी कोरोना नियन्त्रणका लागि लकडाउन गरिएपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुलाई सम्बन्धित जिल्ला पु¥याउने काम स्थानीय प्रशासनले गरिरहेको जनाइएको छ । नाकामा होल्डिङ सेन्टर स्थापना गरेर त्यहीँ बस पठाएर सम्बन्धित जिल्ला पु¥याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गड्डाचौकी नाकाबाट दैनिक ३०० देखि ६०० जनाकोको हाराहारीमा स्वदेश फर्किने गरेको प्रहरीले जनाएको छ । त्यसगैरी गौरीफन्टा नाकाबाट गएको एक सातामा ६ हजार २१६ नागरिक स्वदेश भित्रिएको प्रहरीले जानकारी दिएको छ ।