कोरोना महामारीको दोस्रो लहर फैलिएपछि बैतडीमा २४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार सबैभन्दा बढी बैतडीको पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यस्तै, पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थ डेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
संक्रमण भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उहाहरु आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनु भयो । कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि समस्या भएको जनाइएको छ ।
कोभिडको क्षेत्रमा प्रत्यक्ष रुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको बताउदै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले संक्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका बताउनु भयो । बैतडीमा दोस्रो लहरको संक्रमणपछि १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक जनाको ज्यान गइ सकेको छ । कोरोना संक्रमण तीव्र रुपले फैलिरहेकाले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय बैतडीले आग्रह समेत गरेको छ ।