बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने

 बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । आइतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले बैतडीमा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गर्नु भएको हो । संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइने बैतडीका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो । यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यसअघि नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्र बैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको थियो । सर्वपक्षीय बैठकले सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकोले यसको रोकथामका लागि बजार बन्द गर्ने निर्णय भएको बैतडीको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले बताउनु भयो । उक्त अवधिमा अत्यावश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ ।

 यसैविच बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वैशाख १४ गते कोरोनाका कारण ज्यान गुमाएका ग्वाल्लेकका ३३ वर्षीय पुरुषको सम्पर्कमा रहेका १७ जनामध्ये १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । ती पुरुषको वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनमा रहेका छन् । पछिल्लो समय गाउँगाउँमा कोरोनाको संक्रमण फैलिसकेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीमा हालसम्म १८८ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.