कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन डोटीका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् । जोखिम भत्ता नपाउदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उहाहरुको गुनासो रहेको छ । गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिले सम्मपनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन् ।
उहाहरुले एक वर्षदेखि जोखिम भत्ता नपाएको भन्दै आक्रोस समेत गर्दै आएका छन्। गतवर्ष नै सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । जिल्ला अस्पताल डोटीको आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका केही स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि अन्य चिकित्सक र नर्स सहित ६० जनाले अहिले सम्म पनि जोखिम भत्ता नपाएको बताइएको छ ।
यसैगरी प्रयोगशालामा खटिने ६ जना तथा यहाँका नौवटै पालिकामा स्थापना भएका कोभिड अस्पतालका ५०० जना, १६ जना सवारी चालक र स्वास्थ्य कार्यालयका कार्यरत थप ३० गरी झण्डै ६०६ जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्यबहादुर विष्टले जानकारी दिनु भयो । उहाका अनुसार गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् ।
जोखिम मोलेर काम गर्दा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण समेत भएको थियो । उहाहरू अहिले नियमित खटिन डराएको परिवार नियोजन निरीक्षक विष्टले बताउनु भयो । जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको जिल्ला अस्पताल डोटीका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिनु भयो । उहाले जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरिएको भएपनि केहीको आएको केहीको अहिले सम्मपनि नआउदा समस्या भएको बताउनु भयो ।
जिल्ला अस्पताल सेवा विकास समितिले कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीको सेवासुविधा तथा जोखिम भत्ताका लागि पहल गरिरहेको अध्यक्ष यज्ञराज जोशीले बताउनु भयो । जोखिम भत्ता समेत नपाउने भएपछि त्यहाँका स्वास्थ्यकर्मीहरु अहिले पुनः कोरोना महामारीको बेलामा कसरी खटिने भन्ने चिन्तामा परेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताउनु भयो । पछिल्लो समय डोटीमा कोरोना सङ्क्रमण बृद्धि हुने दर निकै बढेको छ । एक हप्ताको अवधीमा जिल्लामा कोरोना सङ्क्रमित हुँनेको सङ्ख्या १३९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
दुइ हप्ताको बिचमा जिल्लामा दुइ जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । दुइ नगरपालिका सहित सात वटा गाउँपालिका रहेको डोटीमा जिल्ला अस्पताल बाहेक अन्य पालिकाका स्वास्थ्य संस्थाहरुमा अहिले सम्मपनि क्वारेन्टिन तथा आइसोलेसन कक्षहरु निर्माण गरिएको छैन । पछिल्लो केही हप्ता यतादेखि कोरोना सङ्क्रमण हुँने दर दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डोटीका प्रमुख शहर बजार भन्दा पनि ग्रमिण क्षेत्रमा रहेका नागरिकहरुमा बढी कोरोना सङ्क्रमण हुँने दर देखिएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकाँस डोटीका नागरिकहरु सिधै गाउँघरमा जाने तथा त्यहाँ उहाहरुले समुदायमा घुलमिल गर्नेक्रम बढेका कारण कोरोना सङ्क्रमित हुँने दर बढ्दै गएको पाइएको हो । सङ्क्रमित हुँनेहरु प्राय सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहकोे बताइएको छ ।
Comments are closed.