सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला प्रदेश सरकारले करिब साढे चार सय जना स्वास्थ्यकर्मी भर्ना गर्ने,
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला प्रदेश सरकारले करिब साढे चार सय जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको हो । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यस्तै, प्रदेश मातहतमा रहेका अस्पतालहरूलाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकेको सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताउनु भयो । कोभिड–१९ सँग लड्नका लागि प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने बताउदै उहाले आफुहरुले जनशक्ति भर्ना मात्रै नभई अस्पताललाई आवश्यक पर्ने प्रविधि तथा अक्सिजन खरिदको प्रक्रिया पनि थालेका बताउनु भयो ।
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आवश्यक पर्ने चार सय ४६ जना जनशक्ति भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिसकेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको नेतृत्वको टोलीले धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको बुधबार अनुगमन गरेको छ ।
सामाजिक विकास मन्त्री सुवेदीले उद्योगको अनुगमन गर्दै पूरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न निर्देशन दिनु भयो । मन्त्री सुवेदीले उद्योग सञ्चालन गर्न कठिनाइ भए आफुहरुलाई भन्न आग्रह गर्दै के सहयोग गर्नुपर्छ त्यो गरिने बताउनु भयो । अस्पताललाई आवश्यक ग्यास उपलब्ध गराउन आग्रह गर्दै उहाले ग्यास उद्योग सञ्चालनका लागि पेस्की रकम, जनशक्तिको व्यवस्थापन, विद्युतीय समस्या लगायतका समाधान गर्न मन्त्रालयले पूरा साथ दिने बताउनु भयो । सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने सुदुरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो ।
Comments are closed.