अछामको बयालपाटा अस्पतालमा कोरोना भाइरस कोभिड १९ का बिरामीको उपचार गरिएको छ । अछाम, बाजुरा, डोटी लगायतका सुदूरपश्चिमका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई निशुल्क स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा हालकोभिड १९ का बिरामीको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । सरकारले कोभिड विशेष अस्पताल नतोके पनि उपचारका लागि आएका बिरामीलाई कोरोना संक्रमण भएपछि त्यही राखेर उपचार भइरहेको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताउनु भयो ।
अन्य उपचारको लागि बिरामी अस्पताल आउछन् तर लक्षण हेर्दा कोरोनासँग मिल्दो जिल्दो हुने बताउदै डा. पाठकले एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका बिरामीलाई अस्पतालमै आइसोलेसन बनाएर उपचार गरिरहेका बताउनु भयो । हाल अछाम जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा बहिरंग सेवा बन्द भएपनि फिभर क्लिनिक, आकस्मिक र अन्तरंग सेवा सुचारु छन् । अस्पतालले आकस्मिक सेवासँगै अन्य कोरोना संक्रमित बिरामीको पनि उपचार गरिरहेको छ । बयालपाटा अस्पतालमा हाल १० जना कर्मचारीसँगै ४ जना कोरोना संक्रमित र ३ जना कोरोनाकै संकास्पद बिरामीको उपचार भइरहेको छ ।
सरकारले देशका सिमित मात्र अस्पताललाई कोभिड विशेष अस्पताल भनेर घोषणा गरेको छ । ती अस्पतालमा सरकारले कोभिडका बिरामीको उपचारकै लागि भनेर कर्मचारी, श्रोत साधन र उपकरण पठाएको छ । तर अछामको बयालपाटा अस्पताललले भने कोरोनाका लागि आफ्नै श्रोत साधन र साँफेबगर नगरपालिकाको सहयोगमा कोरोना संक्रमित बिरामीको उपचार गरिरहेको जनाएको छ ।