बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढि रहेका बेला स्वास्थ्यकर्मीहरु घरमै पुगेर कोरोना परीक्षण गर्न थालेका छन् । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनु भयो । बाजुरामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन्। तीमध्ये एक महिलाको बुधबार ज्यान गइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् ।
बाँकी सबै होमआइसोलेशनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुुगेर गरिरहेको छ । बाजुराको हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो । सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुुगेको हो । गाउँपालिकामा पुुगेको चिकित्सक टोलीले कोरोना सङ्क्रमितलाई उपचारसँगै उहाहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उक्त हिमाली गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस सङ्क्रमणका बेला एक जना पनि सङ्क्रमित भेटिएका थिएनन् । अहिले दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना सङ्क्रमित रहेका छन् । स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भएपनि बुझ्ने गरेको बताउनु भयो । फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमित बिरामीको जाँच र उपचार गरिरहेको बताउनु भयो । बाजुरामा कोरोनाको जोखिम बढ्न नदिनका लागि बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा समेत गरिएको छ । सङ्क्रमितको मनोबल कम गर्ने काम कसैलाई नर्गन बाजुराका प्रमुख जिल्ला अधिकारी अधिकारीले आग्रह गर्नु भयो । बाजुरामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेशन शय्या छन् । जिल्ला अस्पताल बाजुरामा दुई भेन्टिलेटरसहित आइसीयू शय्या रहेका छन् ।
Comments are closed.