कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि जिल्ला कारागार बैतडीका कैदीबन्दीमा संक्रमणको जोखिम बढेको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागार बैतडीमा हाल ७१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा करीब करीब तेब्बर कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको र व्यवस्थापनमा चुनौती थपिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले बताउनु भयो । कैदीबन्दी बढी हुँदा कोराना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती रहेको बताउदै उहाले बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीहरुलाई राख्नु परेको बताउनु भयो । जिल्ला कारागार बैतडीमा अहिले ३८ जना कैदी र ३३ जना थुनुवा छन् ।
भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट टाँगेर बसोबासको व्यवस्था मिलाइएको जेलर तिवारीले बताउनु भयो । उहाले जसोतसो व्यवस्थापन भइरहेका कारागारमा संक्रमणको जोखिम पनि बढ्दै गएको भएपनि हालसम्म कैदीबन्दीमा समेत कोरोना भाइरसको संक्रमण नदेखिएको बताउनु भयो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भेटघाटको कार्यक्रम बन्द गरिएको जिल्ला कारागार बैतडीका जेलर तिवारीले बताउनु भयो । उहाले कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा संक्रमणको जोखिम हुने भएकाले भेटघाट बन्द गरेका बताउनु भयो । वि.सं. २०४० सालमा निर्माण गरिएको जिल्ला कारागार बैतडीको भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ ।