डोटीको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्रयाक जेठ मसान्तसम्म जोडिने,

 डोटीको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्रयाक जेठ मसान्तसम्म जोडिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाख रुपैयाको लागतमा निर्माण भइरहेको उक्त सहजपुर–बोगटान सडकमा खड्का कृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरिरहेका छन् । कोरोना कहरका कारण डोटीका अन्य सडक क्षेत्र तथा विकास निर्माणका काम रोकिए पनि उक्त सडकको ट्रयाक जोड्ने काम भने रोकिएको छैन । कामदार तथा मेसिन दैनिक रूपमा सडक निर्माणका लागि जुटिरहेको डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरका लक्ष्मण विष्टले जानकारी दिनु भयो । बहुप्रतीक्षित उक्त सहजपुर–बोगटान सडकको ट्र्याक जोडिन अब जम्मा डेढ किलोमिटर मात्रै बाँकी रहेको बताइएको छ ।

 विसं २०४६ देखि निर्माणको चर्चामा रहेको डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा ठूलो सहजपुर–बोगटान सडकले यसपटक पूर्णता पाउने भएपछि त्यहाँका नागरिक निकै खुशी भएको डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का स्थानीयवासी तथा शिक्षक धनबहादुर कलेलले बताउनु भयो । उहाले कच्ची सडक शिलान्यास भएको ३० वर्षपछि ट्रयाक जोडिन गइ रहेको बताउदै अब पक्कै गाडी चल्छ कि भनेर खुसी भएका बताउनु भयो । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशबाट सञ्चालन भएका योजना तोकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्ने र नगरिए कारवाही गरिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएसँगै उक्त सडकको काम तीव्र रूपमा भइरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भयो ।

 सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको कच्ची ट्र्याक जोडिन अब डेढ किलोमिटर बाँकी रहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनु भयो । कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्रयाक जोडिए त्यहाँका नागरिकलाई निकै राहत हुँने डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनु भयो । हाल ट्रयाक जोड्न बाँकी रहेको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरको सिमानामा सडक निमार्णको काम धमाधम भइरहेको बताइएको छ ।

 बोगटान सडक निर्माण कार्यक्रम अन्तर्गत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणलगायत काम भइरहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख खत्रीले जानकारी दिनु भयो । लानाकेदारेश्वर तथा सिमचौर क्षेत्रको भागमा करिब डेढ किलोमिटर जति रक (बलियो चट्टान) लागेकाले निर्माणमा केही समस्यासहित ढिलो भएको बताइएको छ । उक्त सडक जोडिएपछि डोटीको बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् भने त्यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् । सडक सुविधा नभएका कारण ती क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेका थिए ।

 सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने भन्दै किसान बढी खुशी भएको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका हर्कबहादुर बमले बताउनु भयो । डोटीको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार (हल्दी) तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.