डडेल्धुरामा कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने भन्दै गरीएको निषेधाज्ञाको पुर्ण रुपमा कार्यान्वयन भइ रहेको जनाईएको छ । कोरोना भाइरसको संक्रमण बढि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारी गरेको निषेधाज्ञा २०७८ जेठ ४ गते राती १२ बजे सम्मका लागि लम्ब्याइएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवाहरु हाललाई बन्द गरिएका छन् । निषेधाज्ञाको पुर्ण पालना भइ रहेको भएपनि कोरोना संक्रमण भने बढि नै रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सुचना अधिकारी एवम् डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
डडेल्धुरामा दैनिक औषतमा २० देखि ५० जनासम्म कोरोना संक्रमित थपिनेक्रम जारी रहेको बताउदै उहाले पिसीआर परीक्षण पनि डडेल्धुरामै भइ रहेको बताउनु भयो । डडेल्धुराका विभिन्न पालिकाहरुसंग समन्वय गरेर हाल कोरोना परीक्षणको दर समेत बढाइएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो । यस्तै भारतबाट फर्किने डडेल्धुरावासीहरुको संख्या बढि रहेको भएपनि डडेल्धुरामा क्वारेन्टानइ भने निर्माण नगरीका जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
खासगरी कैलाली र कञ्चनपुरका भारतसंग जोडिएका सीमा नाकाहरुबाट फर्किने डडेल्धुरावासीहरु बढि रहेका र उहाहरुको नाकामै कोरोना परीक्षण हुने गरेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । सीमा नाकामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएमा आइशोलेसनमा राख्ने गरिएको र संक्रमण नदेखिएकाहरुलाई मात्रै डडेल्धुरा पठाइने गरेकाले आफुहरुलाई सजिलो भएको उहाले बताउनु भयो । डडेल्धुराका पालिकाहरु अहिले कम्तीमा १० बेडको आइशोलेसन बनाउने क्रममा रहेको समेत डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनु भयो ।