सोमबार राति धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रियो

सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको बताए ।

‘यहाँका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्यास उद्योगले केही हदसम्म भएपनि धानेको थियो,’ सूचना अधिकारी जोशीले भने, ‘तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको जानकारी सञ्चालकले गराएका छन् । अब थप समस्या सिर्जना हुने देखियो । मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले त्यसका लागि हामीले पहल थालेका छौँ ।’

जोशीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको छ । मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै भइरहेको बताए ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १३ जनाको आईसीयू, ५ जनाको भेन्टिलेटर, ३६ जनाको अक्सिजन सर्पोट र ५ जनाको आवश्यकता अनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा ३३ जना उपचाररत छन् । उनीहरु सबैलाई अक्सिजन दिएर राखिएको छ ।

सम्बन्धित

Comments are closed.