अछाममा मङ्गलवार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 अछाममा मङ्गलवार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । अछामको कमलबजार नगरपालिकामा रहेको पीसीआर प्रयोगशालामा ९६ जनाको नमुना परीक्षण गरिएकामा ७७ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ जनामा कोभिड–१९ को संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

 कमलबजार नगरपालिकामा रहेको पिसिआर प्रयोगशाला मार्फत ९६ जनाको स्वाब परीक्षण गर्दा ४६ जना पुरुष र ३१ जना महिला गरी ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । अछामको कमलबजार नगरपालिकाका वडा नम्बर १, २, ५, ७, ८, ९ र १० का ४६ जना पुरुष र ३१ जना महिला गरी ७७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमण समुदाय स्तरमै फैलिसकेको प्रयोगशालाका सूचना अधिकारी विष्टले बताउनुभयो । मंगलवार थपिएका कोरोना संक्रमितहरु १ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् । यस्तै वयलपाटा, चौरपाटी, र पञ्चदेवलमा गरिएको एन्टिजेन परीक्षणमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले बताउनुभयो ।

 अहिले सम्म कमलबजार पिसीआर प्रयोगशालामा ५ हजार ३ सय ८५ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै अछाममा पहिलो चरणमा १ हजार ६ सय ८० सहित २ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल अछाममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ४० पुगेको छ । अछाममा पहिलो लहरमा ४ र दोस्रो लहरमा ७ जना गरी हालसम्म ११ जनाको ज्यान समेत गइसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.