सिलगढी–झिग्राना सडकमा कालोपत्रेको काम शुरु

 सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रेको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रेको काम शुरु गरिएको सिलगढी–झिग्राना सडकमा कालोपत्रेको काममा संलग्न इञ्जिनीयर राजेन्द्र चौधरीले बताउनु भयो । सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ ।

 पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिनु भयो । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता भएको छ। उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताउनु भयो । उहाले खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको बताउदै समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुने बताउनु भयो ।

 विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि त्यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने त्यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए। अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका डोटी जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनु भयो । कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम शुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.