कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको ज्यान गयो,

 कैलालीको भनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढी उपमहानगरपालिकाका १ जना कोरोना संक्रमितको ज्यान गएको हो । धनगढी उपमहानगरपालिका–२ की ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ३१ वर्षीय पुरुष र गोदावरी ३ कै ५२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउनु भयो ।

 सेती अस्पतालमा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १०१ जना र अन्य जिल्लाका ५१ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

 हाल अस्पतालमा ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, ४५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन् भने थप २७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.