कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको ज्यान गएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ हजार २ सय ३ जनाको स्वावको नुमना परीक्षण गर्दा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुमध्ये कैलालीका मात्र चार सय ३३ जना रहेको सुचना अधिकारी श्रेष्ठले बताउनु भयो ।
कैलालीको धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न स्थानीय तहका रहेको उहाले बताउनु भयो । यस्तै पछिल्लो २४ घण्टामा कैलालीमा थप ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । सेती प्रादेशिक अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका ५, कञ्चनपुरका २ र दार्चुलाका एक जनाको ज्यान गएको हो । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष, वडा नम्बर ४ का ५१ र ५६ वर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर २ का ७३ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय पुरुषको ज्यान गएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका वडा नम्बर ११ का ३८ वर्षकै पुरुष र दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुषको पनि उपचारका क्रममा ज्यान गएको सुचना अधिकारी श्रेष्ठले बताउनु भयो । सेती प्रादेशिक अस्पतालबाट पछिल्लो २४ घण्टामा कोरोना जितेर २ जना अस्पतालबाट फर्किएका छन् । सेती प्रादेशिक अस्पतालमा अहिले ९८ जना संक्रमितको उपचार भइरहेको छ । उहाहरु मध्ये १६ जना आईसीयू, २ जना भेन्टिलेटर, ८० जना अक्सिजन सर्पोट र २ जनालाई आवश्यकताअनुसार अक्सिजन दिने काम भइरहेको अस्पतालले जनाएको छ ।