कोरोना महामारीकैबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत स्थानीय तहहरुसँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको हो । पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताउनु भयो ।
घिमिरेका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८००, कृष्णपुर नगरपालिकामा दोदा र वनहरा नदीमा ५५० मिटर, शुक्लाफाँटा नगरपालिकामा स्याली नदीमा ३०० मिटर, पुनर्वास नगरपालिकामा दोदा नदीमा ६०० मिटर र बेलौरी नगरपाालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि ५८ लाख ८९ हजार १३० रुपैयाँ लगानी गरिएको छ । जसमध्ये परियोजनाको तर्फबाट २३ लाख ७९ हजार ६१३, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ४१ हजार ५३१ रुपैयाँ लगानी गरिएको छ ।
यसैगरी, स्थानीय तहको तर्फबाट २६ लाख ४३ हजार ५५ र समुदायको तर्फबाट ३२ लाख २५ हजार ४७५ रुपैयाँ लगानी गरिएको छ । जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार ६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। जैविक तटबन्ध निर्माणले गत वर्ष भू–क्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टका अनुसार २०६५ सालको विनासकारी बाढीबाट क्षति भएपछि जैविक तटबन्धको अवधारणा अघि सारिएको हो ।
विभिन्न संघ संस्था र परियोजनासँग मिलेर कञ्चनपुरमै पहिलोपटक जैविक तटबन्ध निर्माण सुरु गरिएको बताउदै उहाले थोरै लागतमा समुदायको सहभागितामा निर्माण गरिने जैविक तटबन्ध प्रभावकारी हुँदै गएपछि यसको माग बढ्दो रहेको बताउनु भयो । जैविक तटबन्धले हजारौं बिघा जग्गा भू–क्षय हुनबाट जोगिएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टले बताउनु भयो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले दोदा नदीमा आउने बाढीका कारण हुने भू–क्षयको कार्य जैविक तटबन्धको कारणले रोकिएको बताउनु भयो ।
Comments are closed.