कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणमा खटिएको युवाहरुको सञ्जाल शुक्लाफाटा युथ नेटवर्कले कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आइसोलेसन निर्माणमा अटेरी गरिरहेको बताएको छ ।
शुक्लाफाटा नगरपालिकालाई पटक पटक आइसोलेसन बनाउन आग्रह गरेपनि नगरपालिकाले आइसोलेसन निर्माणमा अटेरी गरिरहेको शुक्लाफाटा युथ नेटवर्कका संयोजक हरिश धामीले बताउनुभएको हो ।
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको अवस्थामा हालसम्म नगरपालिकामा आइसोलेशन निर्माण किन भएन भन्ने बिषयमा बुझ्दा शुक्लाफाटा नगरपालिकाका नगरप्रबक्ता जगत बहादुर सिँहले नगरपालिकाले ५ बेडको अस्थायी कोभिड अस्पताल लाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
प्रयाप्त श्रोत साधन उपलब्ध नभइरहेको अहिलेको अवस्थामा आइसोलेशन सञ्चालन गर्न नसकिए पनि कोरोना रोकथाम तथा न्युनीकरणका लागि शुक्लाफाटा नगरपालिकाले सक्ने जति प्रयास गरिरहेको उहाले बताउनुभयो ।
शुक्लाफाटा नगरपालिकाका नगरप्रबक्ता सिंहले केही ब्यक्तीहरुले शुक्लाफाटा नगरपालिकाले केही गरेन भन्ने र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने कार्य दुखद रहेको बताउनु हुदै शुक्लाफाटा नगरपालिकाले कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणका लागि भन्दै कोरोना परिक्षण, निशुल्क एम्बुलेन्स सञ्चालन र शव बाहनको ब्यवस्थापन लगायतका कार्य गरेको जानकारी गराउनुभयो । साथै नगरप्रबक्ता सिंहले सञ्चार माध्यमहरुले पनि समाजमा सकारात्मक सन्देश जाने किसीमले समाचार प्रसारण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
तर यता शुक्लाफाटा युथ नेटवर्कका संयोजक हरीश धामीले भने नगरपालिकालाई आइसोलसन निर्माणमा आफुहरुले साथ दिने र शुक्लाफाटा युथ नेटवर्कका युवाहरु आइसोलेशनमा स्वयम सेवकको रुपमा काम गर्न समेत तयार रहेको बताउदा बताउदै पनि शुक्लाफाटा नगरपालिका आइसोलेसन निर्माणको जिम्मेवारी बाट पन्छीएर भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
शुक्लाफाटा युथ नेटवर्कका संयोजक धामीले शुक्लाफाटा नगरपालिकामा हालसम्म ७ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेको अवस्थामा शुक्लाफाटा नगरपालिकाले आइसोलेशन निर्माण नगर्नु र उल्टै नगरपालिका बाट आफुहरुलाई केन्दी्रत गरी धम्कीपुर्ण तरिकाका प्रतिक्रयाहरु आउनु दुखद रहेको बताउनुभयो ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा सामाजिक काम गर्दै आइरहेको युवाहरुको सञ्जाल शुक्लाफाटा युथ नेटवर्कले कोरोना रोकथाम तथा न्युनीकरणका लागि , कोरोना संक्रमितहरुको ब्यवस्थापन गर्न शुक्लाफाटा नगरपालिकाले आइसोलेसन बनाउनुपर्ने माग गर्दै आइरहेको छ ।