कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा एक साता लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेकोले जिल्ला कोभिड–१९ संकट व्यवस्थान समिति (डीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि जेठ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । यसअघि कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले कोरोना सङ्क्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
Comments are closed.