डोटीमा ५० शय्याको अस्थायी कोभिड अस्पताल स्थापना हुने

 डोटीमा ५० शय्याको अस्थायी कोभिड अस्पताल स्थापना हुने भएको छ । डोटीको सिलगढीमा आयोजित अन्तर पालिका स्तरीय बैठकले राजपुर स्थित सेती सभा हलमा अस्थायी कोभिड अस्पताल स्थापना गर्ने निर्णय गरेको हो । निर्माण पछि प्रयोग विहीन भएको सेती सभा हलमा यस अघि पनि क्वारेनटाइनको व्यवस्था गरिएको थियो । सोही सभाहललाई महामारी नियन्त्रण नभए सम्मका लागि अस्थायी कोभिड अस्पतालमा परिणत गरिने भएको छ । डोटीका स्थानीय तहका प्रमुख, डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रतिनिधी, नेपाली सेनाका प्रतिनिधी, स्वास्थ्य कार्यालय डोटीका प्रतिनिधी, जिल्ला अस्पताल डोटीका प्रतिनिधी, पत्रकार महासङ्घ डोटीका प्रतिनिधी लगायतको उपस्थिति रहेको उक्त बैठकले अक्सिजन र स्वास्थ्यकर्मी सहितको ५० शय्याको अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।

 बैठकले अस्पताल स्थापनाका लागि जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाको संयोजकत्वमा ६ सदस्यीय विज्ञ समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ डोटीका उपाध्यक्ष अरुण बम, जिल्ला अस्पताल डोटीका डाक्टर कृष्णराज जोशी, नागरिक समाजका तर्फबाट अधिराज बि सी, डोटीको दिपायल सिलगडी नगरपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर भण्डारी र पत्रकार कर्ण चन्द रहेका छन् । विज्ञ समितिले अस्पताल स्थापनाका लागि चाहिने पूर्वाधार, औषधि, जनशक्ति, स्वास्थ्य सामग्री र आर्थिक लगायतको प्रतिवेदन तयार गर्ने छ । अस्पताल स्थापनाका लागि सुजंङ्ग अस्पतालले ३० वटा बेड उपलब्ध गराउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताउनु भयो । केही बेडहरू जिल्ला अस्पताल डोटीले उपलब्ध गराउने छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.