कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै जारी गरिएको निषेधाज्ञा उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुरमा प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भयो । लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको बताउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता थापाले लकडाउन पालना गर्न कञ्चनपुर जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको बताउनु भयो ।
उहाले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै महेन्द्रनगर स्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताउनु भयो । मार्टका दुई जनालाई सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले ६०० रुपैयाका दरले जरिवाना गर्नुभएको बताउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता थापाले लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको बताउनु भयो ।
उहाले कोभिडको दोस्रो लहर शुरु हुनु अघिदेखि नै कञ्चनपुरमा प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको दाबी गर्नु भयो । कञ्चनपुरको गड्डाचौकी नाकाबाट गौरीफन्टा नाकाको डोकेबजारसम्म भारतबाट स्वदेश फर्किने नेपालीलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षण गराउन आवश्यक व्यवस्थापनलगायतका काममा प्रहरी खटिँदै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनु भयो ।
Comments are closed.