भारत तथा नेपालमा कोरोनाको संक्रमण उच्च भएपछि सुदूपश्चिम प्रदेशका नाकाहरु भएर भारतबाट नेपाल भित्रिनेहरुको संख्या बढ्दै गएको छ । दार्चुला जिल्लाको नाका, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर दैनिह छ ÷सात सय नेपाली आउने जाने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्य चार नाका भएर चैत र बैशाख दुई महिनामा ७५ हजार भन्दा बढी नेपाली नेपाल फर्केका छन् ।
भारतका विभिन्न शहरमा कामका लागि गएका नेपाली भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि चैत्र दोस्रो हप्ता देखि नेपाल फर्किन थालेका हुन् । थापाले चैत्र १२ गते देखि हाल सम्म चार मुख्य नाकाबाट ७५ हजार ६५५ जना नेपाली नेपाल फर्केको बताउनुभयो । साथै उहाँले २७ हजार १२९ जना नेपाली भारततर्फ गएको समेत जानकारी दिनुभयो । चैत्र महिनामा ४० हजार बढी नेपाली भित्रिएका थिए भने करिब २५ हजार बाहिरिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले भारतका विभिन्न शहरमा गएका नेपाली दोस्रो लहरको नया भेरियन्ट सहितको कोरोना सङ्क्रमित लाखौंको संख्यामा थपिदै गएपछि उहाहरु त्रासले नेपाल फर्केको बताउनु भयो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशानलय दिपायलका निर्देशक डाक्टर गुणराज अवस्थीले मुख्य चार नाकामा हेल्थ डेस्कको व्यवस्थागरी स्वास्थ्य परीक्षण गरिदै आएको बताउनुभयो । एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका सङ्क्रमितमध्य लक्षण देखिएका सकृय सङ्क्रमितलाई विभिन्न जिल्लामा रहेका कोभिड अस्पतालमा पठाउने गरेको समेत निर्देशक डा. अवस्थीले जानकारी दिनुभयो ।