कञ्चनपुरको वेदकोट नगरपालिकामा निषेधाज्ञा अवधिमा हालसम्म बजार अनुगमन नगरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने भन्दै निषेधाज्ञा जारी गरेको छ । यही मौका छोपि अत्यावश्यक वस्तु तथा सेवाहरुको मुल्य वृद्धि भइ रहेको तथा कृत्रिम अभाव सिर्जना भइ रहेको भन्ने गुनासाहरु उपभोक्ताहरुबाट आइ रहेका भएपनि कञ्चनपुरको वेदकोट नगरपालिकाले भने हालसम्म निषेधाज्ञा जारी गरेको अवधिमा बजार अनुगमन नगरेको हो । नेपालमा संघीयता आएर तीन तहका सरकारहरु बनेका र बजार अनुगमनको जिम्मा स्थानीय तहहरुले पाएका छन् तर स्थानीय तहहरुले भने आफ्नो क्षेत्रभित्र बजार अनुगमन नगर्दा उपभोक्ताहरु समस्यामा पर्ने गरेका जानकारहरुले बताएका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका नागरिकहरु कालोबजारीको मारमा नपरुन भन्नका लागि बजार अनुगमन गर्नु पर्नेमा नगर्दा समस्या भइ रहेको नगरवासीहरुले बताएका छन् । वेदकोट नगरपालिकाले बजार अनुगमन नगर्नुको कारणबारे वेदकोट नगरपालिकाका नगर उपप्रमुख शुसिला सिंहले निषेधाज्ञाको अवधिमा पसलहरु नै बन्द हुने भएकाले बजार अनुगमन नगरिएको बताउनु भयो । तर निषेधाज्ञाको अवधिमा पनि बिहानको समयमा खाद्यान्न लगायतका पसलहरु सञ्चालन हुने भएकाले सोही मौका छोपि व्यापारीहरुले कालोबजारी नगरुन भन्नका लागि वेदकोट नगरपालिकाले बजार अनुगमन गर्नुपर्ने कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ का एक जना वडाबासी उमाकान्त पाण्डेयले बताउनु भयो । उहाले औषधीजन्य तथा खाद्यान्नका पसलहरु बिहानको समयमा खुल्ने भएकाले बजार अनुगमन गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले बजार अनुगमन गर्ने जिम्मेवारीबाट उम्किन नपाउने बताउनु भयो ।