गड्डाचौकी नाकामा निर्माण गरिएको अस्थायी होल्डिङ क्वारेनटाइन सञ्चालनमा

 कञ्चनपुरको गड्डाचौकी नाकामा निर्माण गरिएको एक हजार जना बस्न मिल्ने व्यवस्थित अस्थायी होल्डिङ क्वारेनटाइन सञ्चालनमा आएको छ । भारतबाट गड्डाचौकी नाका भएर नेपाल भित्रिनेहरुलाई राख्नका लागि निर्माण गरिइको अस्थायी होल्डिङ क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिमका ९ वटै जिल्ला र अन्य जिल्लाका लागि गरी छुट्टाछुट्टै रुपमा नै व्यवस्थित गरी निर्माण गरिएको होल्डिङ्ग क्वारेनटाइन बुधवारदेखि सञ्चालन गरिएको हो ।

 भीमदत्त नगरपालिका, निड्स नेपाल र नेपाली सेनाको श्रीदल गण भगतपुरको सहकार्यमा होल्डिङ्ग क्वारेनटाइन निर्माण गरिएको हो । वैशाख २० गतेदेखि निर्माण कार्य सुरु गरिएता पनि दुवै पटक हावाहुरीका कारण क्षति हुन पुगेको थियो । अहिले अस्थायी रुपमा व्यवस्थित तरिकाले निर्माण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । श्रीदल गण भगतपुरका सेनानी प्रतीक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सी, खानेपानी, शौचालय लगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ ।

 गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरूका लागि नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था भीमदत्त नगरपालिकाले मिलाएको छ । गड्डाचौकी नाकामै हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन विधिबाट परीक्षण गरेर सम्बन्धित स्थानमा पठाउने गरिएको छ । एन्टिजेन विधीबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका आइशोलेसनमा राख्ने गरिएको छ । मौसम प्रतिकुलताले होल्डिङ्ग निर्माणमा ढिलाइ भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो लगायतको टोलीले बुधवार सो अस्थायी होल्डिङ सेन्टरको निरीक्षण समेत गरिएको छ ।

सम्बन्धित

Comments are closed.