कोरोना भाइरसको सङ्क्रमणको प्रभावका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि कैलालीका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हँुदा किसान मारमा परेका छन् । किसान भोजबहादुर चौधरीले निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउनु भयो ।
धान रोप्नका लागि ब्याड तयार हुन थालेको भएपनि मल नपाइएको उहाले बताउनु भयो । गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन् । जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन् । मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताउनु भयो । वर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन् ।
कोरोनाको संक्रमण रोकथामका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन् । विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ । किसानहरु रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि बिक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान बीरबल डगौराको भनाइ छ ।
किसानहरु महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने उहाले बताउनु भयो । कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ । विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।
Comments are closed.