कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा,

 कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ । अक्सिजन दिनु पर्ने सङ्क्रमितलाई राख्ने गरी कोभिड केयर सञ्चालन गरिएको हो । वैशाख २० गतेबाटै सञ्चालन हुने गरी तयारी अगाडि बढाइएको भए पनि अक्सिजन अभावका कारण केयर सेन्टर सञ्चालन गरिएको थिएन । दुई सय सिलिण्डर अक्सिजन आएपछि सङ्क्रमितलाई राख्ने गरी कोभिड केयर सेन्टर सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

 जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले संयुक्त रुपमा हाललाई ५० शय्याको कोभिड केर सेन्टर सञ्चालन गरेको हो । यसैबीच, सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित बिरामीको चाप घटेको छ । आइतबारदेखि सङ्क्रमित बिरामीको सङ्ख्या कम भएपछि यसअघि अस्पतालको प्राङ्गणमा निर्माण गरिएको अस्थायी टहरा हटाइएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल सो अस्पतालमा ८० जना बिरामीको उपचार भइरहेको छ । केहि दिन अगाडि उपचार गराउन आउने बिरामीको चाप बढेपछि ठाउँ अभावका कारण अस्पतालको प्राङ्गणमा टहरा निर्माण गरेरसमेत कोभिड सङ्क्रमितको उपचार गरिएको थियो ।

सम्बन्धित

Comments are closed.