नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।
एमाले संसदीय दलको अंकगणित
प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् । उनले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी छ ।
बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ । तर पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपछि पार्टी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ ।
Comments are closed.