कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै डोटीमा निषेधाज्ञा जारी भएपछि त्यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको पाइएको छ । दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । डोटीँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिनाको तुलनामा ५० प्रतिशतसम्म बढाइएको जनाइएको छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको डोटीको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताउनु भयो ।
उहाले कोरोनाको बेला सबै बन्द रहेको बेला बजार अनुगमन नगरिएको र व्यापारीले मनपरी मूल्य लिन थालेकाले उपभोक्ता मारमा परेका बताउनु भयो । उहाका अनुसार ५०० एमएलको खाने तेल निषेधाज्ञाअघि रु ९० हाल रु ११० लिन थालिएको छ । त्यस्तै अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि भएको छ । डोटीका बजारमा विभिन्न खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुने गरेको पटकपटक उठ्ने भए पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि खासै पहल नहुने गरेको अर्का स्थानीयवासी मानबहादुर बमले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय डोटीले भने डोटीका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै पनि निकायबाट गुनासो तथा उजूरी नआएको जनाएको छ ।
बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य सङ्घले खासै चासो नदेखाएका कारण डोटीका बजारमा सामानको मूल्यमा व्यापारीको मनपरी हुँदै आएको उपभोक्ताको गुनासो छ । पछिल्लो समय डोटीका व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरूको मूल्य बढाएको डोटीको राजपुरका स्थानीय होटेल व्यवसायी हर्क साउदले गुनासो गर्नु भयो । व्यापारीहरूको सङ्गठन उद्योग वाणिज्य सङ्घले पनि यहाँका बजारमा अनुगमन नगरिँदा तथा मूल्य बढाउने व्यापारीलाई कारबाही नगरेका कारण झनै समस्या भएको उहाको भनाइ छ । यस्तै उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि गरिएको प्रमाणसहित गुनासो वा उजूरी आए तत्काल कारबाहीका लागि सिफारिस गरिने बताउनु भयो ।
सामान्यतया डोटीका बजारमा तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तुको मूल्य शत्प्रतिशत वृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । भटमासको तेल प्रतिलिटर १६५, दाल, चामल र अन्य तरकारीमा पनि रु २० देखि ३० सम्म बढाएर व्यापारीले बेच्ने गरेको गुनासो उहाहरूको छ । व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका कारण सबैभन्दा बढी यहाँ गरी खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लका श्यामबहादुर दासले बताउनु भयो । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको विषयमा तत्काल अनुगमन गरिने बताउनु भयो । डोटीका प्रमुख बजारमा दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने तथा अरू बेला नहुने गरेका कारण पनि त्यहाँका बजारमा सामानको मूल्यमा एकरुपता नहुने गरेको कतिपय उपभोक्ताको बुझाइ छ ।
Comments are closed.