पछिल्लो समय कोरोनाको संक्रमण मुक्त हुनेको संख्या बढ्दै

 दार्चुलामा पछिल्लो समय कोरोनाको संक्रमण मुक्त हुनेको संख्या बढ्दै जान थालेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सरोकारवाला निकायहरुले पहल गर्नु र कोरोनाका संक्रमितहरु पनि सचेत बन्दै गएपछि कोरोनाको संक्रमण मुक्त हुनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हालसम्म दार्चुलामा ६ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ४ सय जना भने कोरोनाको संक्रमण मुक्त भइ सकेका स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार दार्चुलामा हालसम्म १० जना कोरोना संक्रमितको भने ज्यान गइ सकेको छ ।

हाल दार्चुलामा ४ स्थान (जिल्ला अस्पताल दार्चुला, गोकुलेश्वर, मार्मा गाउपालिका र मालिकार्जुन गाउपालिका) मा रहेका आइशोलेसन सेन्टरहरुमा करीब १ सय वटा बेडहरु रहेका भएपनि धेरै कोरोना संक्रमितहरु भने घरमै एकान्तवास (होम आइशोलेसन) मा बस्ने गरेका स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनु भयो । होम आइशोलेसनमा बस्नेहरुको नियमित रुपमा परिक्षण गर्नका लागि स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरु खटिने गरेका बताउदै उहाले स्वास्थ्य कार्यालय दार्चुलामा पनि फोनबाट समेत परामर्श दिनका लागि स्वास्थ्यकर्मीहरुको एउटा समुह बनाइएको बताउनु भयो । स्वास्थ्य कार्यालय दार्चुलामा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना संक्रमितहरुको अवस्थाका बारेमा फोनबाटै बुझ्नुका साथै मानसिक स्वास्थ्यका विषयमा समेत जानकारी गराउने गरेका जनाइएको छ ।

 दार्चुलामा पछिल्लो समय कोरोना संक्रमितहरुलाई साइलेन्ट हाइबोक्सिया अर्थात श्वास फेर्न गाह्रो नभई अक्सिजनको मात्रा घट्ने समस्या देखिन थालेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनु भयो । उहाका अनुसार साइलेन्ट हाइबोक्सिया हुदा ज्वरो आउने लगायतका समस्याहरु देखिने भएपनि श्वास फेर्न भने गाह्रो नहुने तर अक्सिजनको मात्रा घट्दै जाने हुदा संक्रमितको ज्यान समेत जान सक्ने खतरा हुने गर्दछ । त्यसकारण स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरु परिचालित गरी होम आइशोलेसनमा रहेका कोरोना संक्रमितहरुको अक्सिजनको मात्रा नियमित रुपमा अक्सिमिटर प्रयोग गरि नाप्ने गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनु भयो ।

 दार्चुलामा स्वाव संकलन गरी एन्टिजेन परिक्षण दार्चुलामै हुने गरेको भएपनि पिसीआर परिक्षणका लागि भने प्राय बैतडीमा रहेको पिसीआर प्रयोगशालामा पठाउने गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा पिसीआर प्रयोगशाला नहुदा संकलित स्वाव बैतडी स्थित पिसीआर प्रयोगशालामा परिक्षणका लागि पठाइने गरिएको छ । दार्चुलामा जिल्लामा केही समय अघि स्वास्थ्य सामाग्रीको अभाव रहेको भएपनि पछिल्लो समय भने पर्याप्त नभएपनि अभाव नै भने नरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.