अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढी

 सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड (१६,४७,५७,००,००,०००) बजेट सार्वजनिक गरेका हुन् । अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो । कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित धेरै क्षेत्रमा बाँडिएको बजेटले तत्कालका लागि नागरिकलाई खुशी पारेको छ । सरकारले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड, विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड, राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य राखेको छ ।

 बजेटमा सरकाले वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त गर्ने लक्ष्य लिएको छ । सरकारले बजेटमा ज्येष्ठ नागरिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन दिने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण ५ प्रतिशत ब्याजदरमा पाइने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिने, तरकारी, दूध र माछा, मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने भएका छन् ।

 लोकप्रिय कार्यक्रम अन्तर्गत सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र १६ वर्ष उमेर पुगेका विद्यार्थीलाई सीम कार्ड निःशुल्क दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेको छ। सरकारले निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिएको छ। विवादित गरिबी निवारण कोष खारेज गरेको छ भने स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने घोषणा गरेको छ। त्यसैगरी पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा दिने घोषणा सरकारले गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.