कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडी बढाइने

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडी बढाइने भएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८÷७९ को बजेट वक्तव्यमा आगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको हो । विगतमा बजेट सुनिश्चितता नहुँदा औद्योगिक क्षेत्रको कार्यले गति लिन सकेको थिएन । वि.सं. २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलालाई औद्योगिक क्षेत्रका रूपमा प्रस्तावित गरिएको थियो। औद्योगिक क्षेत्र प्रस्तावित गरिएपछि उद्योग वाणिज्य संघका पदाधिकारी लगायत यस क्षेत्रका व्यवसायी, राजनीतिज्ञले पटक पटक कार्य अगाडी बढाउनका लागि पहल गरेपनि कार्य अघि बढाउन सकिएको थिएन ।

 वन मन्त्रालयले वर्षौंसम्म औद्योगिक क्षेत्र स्थापना हुने क्षेत्रको जग्गाको भोगाधिकार नदिँदा निर्माण कार्य अन्योलमा परेको थियो । हाल औद्योगिक क्षेत्र स्थापना हुने ठाउँको जग्गा सुनिश्चिततासहित वातावरणीय प्रभाव मूल्याङकन र लागत अनुमानका कार्य पूरा भएको छ । गत फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै उहाले बजेटको व्यवस्था गरी काम अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगका लागि गुरु योजना (मास्टर प्लान )को कार्य पूरा भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगलाई चाहिने विद्युत र सडक पूर्वाधार जग्गा लगायत उपलब्ध गराउनेछ ।

 औद्योगिक क्षेत्रका साविकमा पूर्वतर्फ मुक्त कमैया बस्ती, पश्चिमा दैजी जोगबुढा सडक, उत्तरमा वन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्तीलाई चार किल्ला तोकी ९०० विघा जग्गा व्यवस्था गरिएको छ । हाल २४० दशमलव ३४ हेक्टर जग्गामा डीपीआर सम्पन्न गरी स्वीकृत भैसकेको छ। औद्योगिक क्षेत्रको कुल लागत रु नौ अर्ब रहेको छ। साना उद्योगका लागि २३ वटा प्लट, मझौला उद्योगका लागि ४४ प्लट र ठूला उद्योगका लागि ३३ वटा प्लट छुट्टयाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन अनुसार उद्योगहरूको क्लस्टर बमोजिम प्लट छुटयाइएको छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष ग्राह्यता दिइने बताइएको छ ।

 औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाइन गरिएको छ । औद्योगिक क्षेत्रमा अनुमानित २२ हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ। पूर्वाधार निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी उद्योगहरू सञ्चालनमा ल्याउने र पाँच वर्षभित्र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधार निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ । झापाको दमक, मकवानपुरको मयुरधाप, रूपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजीमा अगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेट वक्तव्यमा जनाइएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.