कञ्चनपुरमा निषेधाज्ञाको अवधि फेरी थप गरिएको छ । यसअघि यही जेठ २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको भएपनि यही जेठ २० गते बिहीवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको अवधि थप गरेको हो । अब कञ्चनपुरमा यही जेठ ३१ गते राती १२ बजे सम्मका निषेधाज्ञा अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा उच्चदरमा फैलिदै गई रहेको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीवार बसेको बैकको निर्णयको आधारमा कञ्चनपुर जिल्लाभर यही जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।
निषेधाज्ञा अवधिमा औषधी उपचार र प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिडडुल गर्न नपाइने भएको छ । साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्ल, सैलुन, व्युटी पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न नपाइने, स्वास्थ्य सेवा, दुध डेरी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने, तरकारी तथा फलफुलको हकमा सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी हरेक आइतवार र बुधवार बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न सकिने भएको छ । खाद्य वस्तुका पसल व्यवसाय हरेक आइतवार र बुधवार बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी सञ्चालन गर्न भने पाइने छ ।
निर्माण समाग्री तथा मालसामान ढुवानीका साधन बाहेक अन्य सबै सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न नपाइने, निर्माण सम्बन्धी आयोजना तथा व्यक्तिगत निर्माणको कार्यको हकमा निर्माण सामाग्री, उपकरण र कामदार निर्माणस्थलमा नै राखी निर्माण कार्य गर्न सकिने भएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरु हरेक आइतवार र बुधवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म मास्क, स्यानिटाइजरको प्रयोग तथा समाजिक दुरी कायम गर्ने लगायत जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने भएको छ । साथै राजश्व तथा सरकारी कारोबार, एटीएम तथा विद्युतीय सेवा बैंक तथा वित्तीय संस्थाको नियमानुसार सञ्चालन गर्न सकिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्धारा जारी आदेशमा उल्लेख गरिएको छ । उल्लेखित आदेशको अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्याधेस २०७८ अनुसार कारबाही हुने समेत जनाइएको छ ।
Comments are closed.