शुक्रबार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६५७ जनाको स्वावको नमुना परीक्षण गर्दा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनु भयो । शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा ६ जना कैलालीको धनगढी उपमहानगरपालिकाका रहेका छन् ।
यस्तै धनगढी बाहेक कैलालीका ४२ जना र अन्य जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट १० जना कोरोनाको संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् भने थप ८ जना नयाँ संक्रमित भर्ना भएका छन् । हाल सेती प्रादेशिक अस्पतालमा ४८ जना कोरोना संक्रमित उपचाररत रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका वडा नम्बर १ का ५७ वर्षीय पुरुषको ज्यान गएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।