भारतीय एसएसबीको अवरोधका कारण कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । २०७३ सालदेखि निर्माण कार्य थालिएको पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण काम रोकिएको हो । स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कागजात मागेको छ ।
बेलौरी नगरपालिका-८ को खप्टी नाला क्षेत्रको साढे एक किलोमिटर सडक खण्डमा डेढ वर्षदेखि एसएसबीको अवरोधका कारण काम गर्न नसकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैले एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा डेढ वर्षदेखि निर्माण कार्य अगाडि बढाउन नसकिएको बताए । ‘सीमा क्षेत्रमा सडक लगायतका भौतिक संरचना निर्माण गर्दा ९.१ मिटर छोड्नुपर्ने प्रावधान छ,’ ‘हामीले सबभन्दा नजिकको पिल्लरबाट २० देखि २५ मिटर नेपालतर्फ सडक निर्माण गरेका छौँ । तर भारतीय एसएसबीले आएर आफ्नो भूमि दाबी गर्दा काम अगाडि बढाउनै सकिएको छैन ।’
निर्माण व्यवसायी चक्र शाहीले भारतीय एसएसबीले सडक निर्माणको विषयलाई लिएर अनावश्यक दुःख दिन थालेको गुनासो गरे । ‘पहिलेको भन्दा अहिले एसएसबी निकै आक्रामक बनेको छ,’ शाहीले भने, ‘सो क्षेत्रमा हाम्रो गाडीहरु देख्ने बितिकै हतियारसहितको टोली पुग्ने गरेको छ । सोही कारण कालोपत्र गर्न ठीक्क पारिएको सडकको काम गर्न सकिएको छैन ।’
उनले एसएसबीले जबरजस्ती सडक निर्माण गरेमा हुने क्षतिको जिम्मेवारी लिनुपर्ने चेतावनी समेत दिंदै आएको उनी बताउँछन् । ‘एसएसबीले जबरजस्ती निर्माण गर्यौ भने त्यसको जिम्मेवारी तिमी आफैं लिनू भन्छ । सोही कारण अहिले हामीले डेढ किलोमिटर क्षेत्रको काम छाडेर अगाडि बढेका छौं,’ उनले भने ।
हुलाकी सडक योजना कार्यालयका अनुसार कुल ६२ किलोमिटर खण्डमध्ये ३२ किलोमिटर कालोपत्रे भइसकेको छ भने विवादित क्षेत्रको डेढ किलोमिटर छोडेर २८.५ किलोमिटर सडक कालोपत्रे हुने क्रममा छ । सडक निर्माणको ठेक्का अवधी समाप्त भएकाले थप गरिने योजना कार्यालयको भनाइ छ ।
निर्माण व्यवसायीको निवेदनमाथि सुनवाइ भएन
भारतीय एसएसबीकै अवरोधका कारण डेढ वर्षदेखि प्रभावित भएको सडकको काममा सहजीकरण गरिदिन माग गर्दै निर्माण व्यवसायीले योजना कार्यालय र स्थानीय प्रशासनमा गत वर्षको असारमै निवेदन पेश गरेका थिए । तर निवेदन दिएको एक वर्ष बित्दा समेत कुनै सुनवाइ हुन नसकेको गुनासो गरिएको छ । निर्माण व्यवसायी शाहीले भने, ‘उहाँहरुबाट अहिलेसम्म कुनै सुनवाइ भएको अवस्था छैन । सोही कारण समस्या जहाँको त्यहीँ छ ।’
हुलाकी सडक योजना कार्यालयले भने विगतमा कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आफ्नो आदेश विना काम अघि नबढाउन निर्देशन दिए पनि अन्य निकास भने निस्कन सकेको थिएन । प्रजिअकै निर्देशन बमोजिम योजना कार्यालयले निर्माण व्यवसायीलाई विवादित बाहेकको क्षेत्रमा काम गर्न भनेको थियो । दुबै देशको संयुक्त नापजाँच टोली आएका बखत समेत सो विषयमा कुरा उठाएको भएपनि कुनै निकास ननिस्किएको इन्जिनियर पदमबहादुर मडैले बताए ।
नगरपालिकाको आग्रहपछि प्रधानमन्त्री कार्यालयले माग्यो कागजपत्र
बेलौरी नगरपालिकाले हुलाकी सडक सम्बन्धी विवाद समाधानका लागि पहल गरिदिन अनुरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेपछि आवश्यक कागजपत्र माग गरिएको पाइएको छ । प्रधानमन्त्री कार्यालयले हालै जिल्ला प्रशासन कार्यालय मार्फत हुलाकी सडक योजना कार्यालयलाई पत्र पठाउँदै आवश्यक विवरण माग गरेको हो । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हामीलाई हुलाकी सडक र विवादित क्षेत्रसँग सम्बन्धित आवश्यक कागजपत्र माग भएको छ,’ सडक योजना कार्यालयका इन्जिनियर मडैले भने, ‘हामी ती विवरण संकलन गरेर पठाउने तयारीमा छौं । सम्भवः अब विवाद सामाधानका लागि केही प्रक्रिया अगाडि बढ्ला की ?’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने सडकको विवाद सम्बन्धी समस्या सामाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । ‘हिजोआज बाहिर आएजस्तो त्यहाँ समस्या छैन,’ प्रजिअ महतोले भने, ‘यसअघिकै समस्या हो । म प्रजिअ भएर आउनु अगाडि पनि दुई पक्षबीच छलफल भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विवरण माग गरेको छ ।’
Comments are closed.