कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पीसीआर परीक्षण निःशुल्क गरिने,
कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पीसीआर परीक्षण निःशुल्क गरिने भएको छ । महाकाली अस्पतालको सामाजिक विकास इकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरूको पीसीआर जाँच निःशुल्क गरिएको हो । यस बाहेक अन्यलाई पीसीआर जाँचको शुल्क आधा घटाइएको छ । यसअघि एक हजार शुल्क लिने गरिएकोमा अहिले यसलाई घटाएर ५०० रुपैयाँ बनाइएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिको केही दिन अघि बसेको बैठकबाट पीसीआर जाँच शुल्क हेरफेर गरिएको हो । कमजोर अवस्थाका व्यक्तिलाई जाँच निःशुल्क गर्न आग्रह हुने गरेको थियो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले सामाजिक विकास इकाइबाट सेवा लिने सबै सेवाग्राहीको निःशुल्क र अन्यलाई पाँच सय शुल्क लिने गरी निर्णय गरिएको बताउनु भयो ।
अस्पतालको सामाजिक विकास इकाइबाट आर्थिक रूपमा कमजोर भएका समुदाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, सीमान्तकृत र पछाडि पारिएका समुदायका व्यक्तिलाई निःशुल्क रुपमा सेवा दिने गरिएको छ । कोरोना भाइरस महामारीको पहिलो लहर फैलिएपछि गत वर्ष अस्पतालमा पीसीआर मेसिन जडान गरिएको थियो । भीमदत्त नगरपालिकाले अस्पतालका लागि पीसीआर मेसिन खरिद गरेको थियो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिलो पटक भीमदत्तले मेसिन खरिद अघि बढाएको थियो । त्यसपछि अन्य तह पनि मेसिन खरिदमा लागेका थिए। कोरोना संक्रमति बिरामीको पीसीआर जाँचका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता हटाउन अस्पतालमा मेसिन जडान गरिएको थियो ।
Comments are closed.