कैलालीका स्थानीय तहमा कोरोना परीक्षणका लागि गरिने स्वाब सङ्कलनको कार्य घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि पुग्ने समेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिनाको तथ्यांक हेर्दा हाल कोरोना परीक्षणका लागि पुग्नेको सङ्ख्यामा कमी आएको कैलालीको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताउनु भयो । जोशीपुर जस्तै जानकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । दुई साता अघिसम्म स्वाब सङ्कलन शुरु गरेको समयमा स्वाब दिन आउनेको निकै भीड लाग्ने गरेको बताउदै जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले हाल परीक्षण गर्न पुग्नेको सङ्ख्या घटेको बताउनु भयो ।
शुरूका दिनमा त सयौँ नागरिक परीक्षणका लागि आएका भएपनि हाल लकडाउनका कारण नागरिक घरमै बस्दा सङ्क्रमण घटेको देखिएको बताउदै उहाले आजभोलि सातामा २० देखि ३० जनासम्म परीक्षणका लागि पुग्ने गरेका बताउनु भयो । कैलालीका अधिकांश पालिकाले सातामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेका छन् । कैलालीको भजनी नगरपालिकाले पनि साताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलन गर्ने गरेको छ । पहिले एकै दिनमा ८० देखि १०० व्यक्ति स्वाब दिन आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर बढीमा ३० मात्र आउने गरेका छन् । भजनी नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक कैलाश चौधरी कोरोना परीक्षण गरी पोजेटिभ देखिए गाउँ समाजले हेलाका दृष्टिले हेर्छ भन्ने नागरिकको बुझाइले पनि परीक्षण गर्न आउने घटेका बताउनु भयो । कैलालीको टीकापुर नगरपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन पुग्ने नागरिक घटेका जनाइएको छ ।
शुरुमा हप्तामा २५० व्यक्तिसम्मको स्वाब सङ्कलन गरिने गरेकोमा अहिले २० जनासम्म मात्र स्वाब दिन पुग्ने गरेका जनाइएको छ । टीकापुर नगरपालिकाले मङ्गलबारदेखि गाउँगाउँमा गएर शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बताउनु भयो । कोरोनाका लक्षणसहित स्वास्थ्यमा समस्या देखिएमा अनिवार्य परीक्षण तथा उपचारमा आउन टीकापुर अस्पतालका कोरोना फोकल पर्सन चिकित्सक रमेश उपाध्यायले आग्रह गर्नु भयो । समस्या भएर घरमै लुकाएर बस्दा स्वास्थ्यमा जटिल समस्या भइसकेको हुनसक्ने र अन्तिममा श्वासप्रश्वासमा समस्या भएपछि मात्र अस्पताल जाने गर्दा जोखिम हुने बताउदै चिकित्सक उपाध्यायले समयमै उपचारमा गए रोग पहिचान हुने र समयमै उपचार पाइने तथा अर्कोतर्फ सङ्क्रमित पहिचान भएमा घरपरिवार र समुदायमा फैलने जोखिम पनि कम हुने बताउनु भयो ।
कैलालीका सबैजसो पालिकाले कोरोना परीक्षणका लागि स्थानीयस्तरमा स्वाब सङ्कलन गर्ने र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउने व्यवस्था मिलाएका छन् । अस्पतालले सबै पालिकाको स्वाब परीक्षण गरेर नतिजा सम्बन्धित बिरामीको मोबाइलमा म्यासेज गर्ने व्यवस्था मिलाइएको छ । साथै पालिकाले समेत सङ्क्रमितको तथ्याङ्क राख्ने व्यवस्था मिलाएका छन् । जसले सङ्क्रमितको उपचार, उद्धार र राहतमा सहज हुने गरेको जनाइएको छ ।
Comments are closed.