बैतडीमा ज्येष्ठ नागरीकलाई कोरोना विरुद्धको खोप लगाउने कार्य जेठ २८ गतेदेखि सुरु हुने,

 बैतडीमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान रोकिएको छ । देशभर जेठ २५ गतेदेखि खोप अभियान सञ्चालनमा आए पनि बैतडीमा भने सञ्चालन हुन सकेको छैन । सरकारले जेठ २५ गतदेखि ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । बैतडीमा जेठ २८ गतेदेखि अभियान सुरु हुने उहाको भनाइ छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बैतडीको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा जेठ २८ गते खोप लगाइने छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइने छ ।

 यस्तै, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने जनाइएको छ । उक्त अभियानका लागि जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनु भयो । बैतडीमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक करिब ३ हजार ५०० जना रहेको अनुमान छ । बैतडी जिल्लामा अहिले ३ हजार ७८० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 पहिला कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई दोश्रो डोज नभएकाले अहिले भेरोसेल खोप लगाउँदा भने दोश्रो डोज मौज्दात राखेर मात्रै खोप दिइने भएको छ । खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ । यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदाका स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत स्वास्थ्य कार्यालय बैतडीले आग्रह समेत गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.