कैलालीका स्थानीय तहहरु पनि आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन् । असारमा नगर तथा गाउँसभा मार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । कोरोना संक्रमणको जोखमका कारण योजना छनोटका लागि बस्तीस्तर, गाउँ र वडामा भेला गर्न नसक्ने अवस्था भए पनि नागरिकसँग सुझाव लिने कार्य थालेका छन् । कैलालीका पालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न नागरिक तथा सङ्घसंस्थालाई अपिल गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाले टेलिफोन र इमेलमार्फत सुझाव दिन नगरवासीलाई सूचना गरेको छ । सङ्घसंस्थालाई आफ्ना माग पेश गर्नसमेत सूचना गरिएको छ । विगतझैँ वृहत् छलफल गर्न कठिन छ तर समयमै योजना ल्याउनका लागि विकल्प खोजेर छनोटमा जुट्ने तयारी भएको कैलालीको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनु भयो ।
विगतमा आठ चरणमा छलफलपछि योजना छनोट गरिने गरेको बताउदै उहाले आफुहरुले नगरको आर्थिक स्रोतको पहिचान गरेर वडालाई बजेटको खाका दिने कार्य टुङ्ग्याउन थालेका र अब वडास्तरमा छलफल शुरु हुने बताउनु भयो । टीकापुर नगरपालिकाले यही जेठ ३१ गतेसम्म वडालाई योजना छनोट गरेर नगरपालिकामा पेश गर्न निर्देशन दिएको छ । वडाले टोल, वडा भेला गरेर बजेट बनाउन कठिन भएकाले टोलको प्रतिनिधित्व हुने गरी बडघर तथा अगुवा बोलाएर योजना छनोट गर्ने तयारीमा जुटेको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्यले बताउनु भयो । गत वर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, अगुवाले दिएका सुझावलाई आत्मसाथ गरेर योजना छनोट गर्ने बताउदै वडाध्यक्ष आचार्यले वडाबाट योजना छनोट भएर गएपछि नगरपालिकाका शाखा, उपशाखामा समेत छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट लैजाने तयारी शुरु भएको बताउनु भयो । कैलालीको जानकी गाउँपालिकाले पनि समयमै बजेट ल्याउनका लागि योजना छनोट कार्य शुरु गर्ने तयारी थालेको छ ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले गत वर्ष प्राथमिकतामा परेका योजना, वडामा दूरी कायम गरेर छलफल गरेर योजना ल्याउन वडासमिति सक्रिय भएका बताृनु भयो । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब करीब २ साता बाँकी छ । कानूनीरूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्ममा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटेका छन् । कैलालीको भजनी नगरपालिकाले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम थालेको छ । कोरोना महामारी सङ्क्रमणको जोखिम नभएको भए यतिबेला धेरै नागरिक जम्मा गरेर टोल भेला र छलफल शुरु हुने भएपनि हाल कोरोना महामारीका कारण जिल्लाभर निषेधाज्ञा जारी रहेको सङ्घीय सरकारले बजेटको सिलिङ पठाइसकेकाले अब कार्यपालिकामा छलफल गरेर विकल्प खोज्ने भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले बताउनु भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएपछि एकातिर चालु वर्षका योजना सम्पन्न गर्नुपर्ने, अर्कोतर्फ आगामी वर्षका योजना छनोटको चाप स्थानीय तहलाई छ । महामारीको जोखिम भए पनि विकास निर्माणका कार्य र कार्यालयका अत्यावश्यक सेवा सञ्चालन राखेका कैलालीका पालिकाहरुले नीति तथा कार्यक्रम र बजेटको समय नजिकिँदै गर्दा कामको चाप बढेको बताएका छन् । कोरोना महामारीको पीडा भोगेका कैलालीका पालिकाले आगामी वर्षको नीति कार्यक्रम र बजेटलाई कोभिड नियन्त्रणमा केन्द्रित गर्ने बताएका छन् । सबैजसो पालिकाले उत्पादन र रोजगारी वृद्धि र स्वास्थ्य सचेतना, उपचारलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नेमा एकमत देखिएका छन् ।
Comments are closed.