महाकाली प्रादेशिक अस्पतालबाट कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीलाई उपचारका लागि शनिबार काठमाडौं लगिएको छ । कैलाशको एयरलाइन्सको हेलिकप्टरबाट भीमदत्त नगरपालिका ३ भाँसीका ती विरामीलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
केही दिन अघि कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएपछि रिफर गरिएको हो । विरामीका आफन्तले हेलिकोप्टर चार्टर गरी उनलाई काठमाडौं लगेका हुन् ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले फोक्सोमा समस्या देखिएपछि थप उपचार गर्न रिफर गरिएको बताए ।
‘वहाँमा पोजिटिभ थियो, पछिल्लो रिपोर्ट त नेगेटिभ पनि आइ सकेको थियो’ उनले भने,‘फोक्सोमा समस्या भएपछि काठमाडौं लगिएको हो ।’
खराब मौसमका कारण हेलिकोप्टर शुक्लाफाँटा नगरपालिकाको अमरपुरमा आपतकालिन अवतरण गरी महेन्द्रनगर खुला मञ्च आएको थियो । हावा र पानीका कारण हेलिकोप्टर अवतरण गरिएको हो । खुला मञ्चबाट उनलाई काठमाडौं लगिएको छ ।