प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको हो । आज बिहान बसेको प्रदेशसभाको बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । प्रदेश सरकारले ३० अर्ब ३३ करोड बराबरको बजेट ल्याएको थियो ।
बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः अर्थमन्त्री शाह प्रदेश सभाबाट बहुमतले पारित गराउन सफल भएका हुन् ।
सत्ता पक्षकै सांसदहरुले ‘विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेट’ले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए ।
सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सोमबार उक्त आरोपबारे गम्भीर असहमति रहेको बताएका छन् । बजेट बाँडफाँटमा विभेद भएको भन्ने आरोपमा समेत कुनै सत्यता नरहेको तर्क उनको थियो ।