भीमदत्त नगरपालिका १८ सालघारीस्थित भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजनाको स्वामित्व हस्तान्तरण
भीमदत्त नगरपालिका १८ सालघारीस्थित भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजनाको स्वामित्व हस्तान्तरण गरिएको छ । खानेपानी आयोजना कार्यालयमा मंगलबार कार्यक्रम गरी आयोजना हस्तान्तरण गरिएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरले उपभोक्ता भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिलाई स्वामित्व हस्तान्तरण गरेको छ । आयोजना प्रमुख किरण आचार्यले समितिका अध्यक्ष गणेश सिह धामीलाई स्वामित्व हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डेय सहित जनप्रतिनिधि र स्थानीय सहभागी भएका छन् ।
भीनपा १८ का ८ हजार बढी वासिन्दालाई स्वच्छ खानेपानी सुविधा पुगाउन आयोजना सुरु गरिएको छ । सात करोड ८९ लाख खर्च गरिएको आयोजनामा एक करोड ४३ लाख उपभोक्ता समितिले व्यहोरेको छ ।
सालघारीमा चार सय ५० घनमिटर क्षमताको ओभर हेड निर्माण पानी वितरण गरिएको छ । हालसम्म पाँच सय भनदा बढी घरधुरीमा खानेपानीका धारा जडान गरिएका छन् । खानेपानीको पाइप लाइन विस्तार कायलाई निरन्तरता दिइएको छ ।
खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटरको वितरण लाइन निर्माण गर्ने लक्ष्य लिइएको छ ।
भीमदत्त नगरपालिका १८ का अध्यक्ष पाण्डेयले आयोजनाले वडाका अधिकाँश वासिन्दाको घरमा स्वच्छ खानेपानी सुविधा पुगेको बताए । ‘यो यस वडाको सबैभन्दा ठूलो योजना हो, यसबाट अधिकाँश घरमा खानेपानी सुविधा पुग्छ’ उनले भने ।
वडाका सबै वासिन्दाका घरसम्म स्वच्छ खानेपानी सुविधा पुगाउन वडा कार्यालय सक्रिय रुपमा लाग्ने वडा अधयक्ष पाण्डेयले बताए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरका कार्यालय प्रमुख आचार्यले सम्झौता अनुसार आयोजनाको काम सकिएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष धामीले खानेपानी आयोजना, वडा कार्यालय र स्थानीय सबैको सहयोगमा खानेपानी आयोजना सञ्चालनमा आएको बताए ।
‘यसमा सबै पक्षको साथ र सहयोग छ, सबैको साथले आज हामी आयोजनाको स्वामित्व हस्तान्तरण गर्ने अवस्था आएका हौ’ उनले भने,‘यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छौ ।’