बाढीले ड्याम बनेका कारण नजिकै रहेको बस्ती जोखिममा

दार्चुलाको नौगाड गाउँपालिका वडा नं ३ मा खारखोला थुनिएको छ । खोलामा आएको बाढीले खारखोला र नौगाड नदीको दोभानमा ड्याम बनेको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन् ।

बिहीबार बिहान खोलामा आएका बाढीले ड्याम बनेको हो । ड्यामका कारण नजिकै रहेको बस्ती जोखिममा परेको उनले बताइन् । उनले भनिन् ‘अहिले खोला र नदीको दोभानमा ड्याम बनेको छ । ड्याम खोल्ने प्रयास भएको छैन् । स्थानीयहरु आँफै ड्याम खोल्नका लागि प्रयास गरिरहेका भएपनि सम्भव भएको छैन् ।’

नौगाडमा बनेको ड्यामले एक्कासी फुटेमा तलतिरको बस्तीमा समेत जोखिम हुने स्थानीय प्रेमबहादुर ठगुन्नाले बताए । उनले भने ‘ड्यामले नौगाड गाउँपालिका ३ को जामीरमा जोखिम बढाएको छ । ड्याम समयमै नखोलिए तलतिरको बस्ती समेत जोखिममा पर्नेछ ।’

खोलामा बाँध बाँधिएपछि अहिले स्थानीयहरुले आफ्नै प्रयासमा बाँध खोल्ने कार्य गरिरहेका छन् । स्थानीय सरकारले समेत कुनै चासो नदिएको उनीहरुको आरोप छ ।

बाढी र पहिरोका कारण बिहीबार मात्रै दार्चुलाको नौगाडमा तीनजनाको ज्यान गएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.