सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।
कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी दिए ।
सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संघीयता सुदृढीकरण, मन्त्रीहरुको आचारसंहिता लगायत विषय समेटिएको छ ।
कार्यदल संयोजक एवम् कांग्रेस महामन्त्री खड्काले स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन कार्यदलले सिफारिश नगरेको भनी सामाजिक सन्जालमार्फत् स्पष्टीकरण दिएका छन् ।
कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।