धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै

धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो ।

प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित बढेका छन् । बुधबार मात्र अस्पतालमा ८ जना संक्रमित भर्ना भएका छन् । यो सँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या २७ पुगेको छ । जबकी अघिल्लो दिन (मंगलबार) कोभिड अस्थायी अस्पतालमा १९ जना संक्रमितको मात्रै उपचार भइरहेको थियो ।

बुधबारसम्म अस्पताल भर्ना भएका २७ मध्ये ८ जना बाहेक अन्य १९ जना जटिल प्रकृतिका संक्रमित छन् । ‘असार अन्तिमतिर अस्पतालमा उपचारका लागि फाट्ट-फुट्ट मात्र संक्रमितहरु आउने गरेका थिए,’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘साउनदेखि गम्भीर संक्रमितको संख्या बढ्न थालेको हो । अहिले बढीजसो अक्सिजन सपोर्ट चाहिने संक्रमित छन्।’

श्रेष्ठका अनुसार चार जनाको भेन्टिलेटर, दुईजनाको आईसीयूमा उपचार भइरहेको छ भने पाँच जनालाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । अन्य १० जना संक्रमितको पनि अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।

पछिल्लो समय १० देखि १४ वर्ष उमेर समूहका बालबालिका पनि संक्रमित भएर उपचारका लागि अस्पताल पुग्न थालेको श्रेष्ठ बताउँछन् । तर अक्सिजन सपोर्ट बाहेक बालबालिकालाई आईसीयू र भेन्टिलेटरमा राखिएका उदाहरण भने छैन ।

सम्बन्धित

Comments are closed.