सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले परीक्षा दिए, उत्तरपुस्तिका बुझाउन पाएनन्

 कञ्चनपुरको भीमदत्त नगरपालिकाकी मन्जु बडु सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा स्नातक तहमा अध्ययन गर्दै आएकी छन् । मन्जुले गत साउन ९ देखि २४ गतेसम्म चलेको स्नातक तह चौथो सेमेष्टरको परीक्षा अनलाइन प्रणालीमार्फत दिइन् ।

सबै परीक्षा राम्रै गरेकी मन्जुले एउटा विषयको उत्तरपुस्तिका भने समावेश गर्न नसक्दा अहिले पनि आफूसँगै राखेकी छन् । विश्वविद्यालयले परीक्षा सञ्चालन र उत्तरपुस्तिका समावेश गर्न प्रयोग गरेको टिम्स नामक सफ्टवेयरले काम नगरेकै कारण मन्जुले उत्तरपुस्तिका समावेश गर्न पाइनन् ।

विश्वविद्यालयले उत्तरपुस्तिका समावेश गर्न दिएको एक घण्टाको समय सकिन ३० मिनेट बाँकी रहेका बेला प्राविधिक समस्याका विषयमा विश्वविद्यालयलाई जानकारी गराइन् तर उल्टै इन्टरनेटको समस्या भन्दै राम्रो नेटवर्क भएको स्थानमा गएर अपलोड गर्न भनियो । बडुले वाइफाइका अतिरिक्त नेपाल टेलिकम, एनसेल र स्मार्टको डाटा किनेर प्रयास गर्दा समेत परीक्षा प्रणालीले काम गरेन । प्रयास गर्दागर्दै एक घण्टाको समयसीमा सकियो र परीक्षा प्रणाली स्वतः बन्द भयो ।

उनका दाजु राजेन्द्र बडुले तत्कालै उत्तरपुस्तिकासहित समस्याबारे भौतिक रुपमै महेन्द्रनगरस्थित विश्वविद्यालयको परीक्षण नियन्त्रण कार्यालयमा पुगे तर त्यहाँ पनि सुनवाइ भएन । ‘विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत परीक्षा सञ्चालन गरेको थियो । तर विद्यार्थीलाई कुनै खालको प्राविधिक सहयोग दिइएन । कार्यालयमै पुगेर भेट्दा समेत त्यहाँका कर्मचारीले यो विषयलाई हलुका ढंगले लिए,’ राजेन्द्र भन्छन्, ‘परीक्षा दिँदादिँदै पनि विश्वविद्यालयकै लापरबाहीले उत्तरपुस्तिका समावेश गर्न नसकिँदा अनुत्तीर्ण देखाएको छ । यसको जिम्मा लिनु पर्छ कि पर्दैन ?’

उनले विश्वविद्यालयले निर्विकल्प अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । ‘हामीले निर्धारित समय सकिनुभन्दा ३० मिनेट पहिले सिस्टम चलिरहेको छैन के गर्ने ? भनेर विश्वविद्यालयमा सम्पर्क गरेका छौं,’ उनले भने, ‘तर शिक्षक तथा कर्मचारीले यो कुरालाई सामान्य रुपमा लिए । मेरो बहिनी मात्र नभएर उसकै सयौं साथीहरुको यसैगरी उत्तरपुस्तिका छुटेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ ?’ मानविकी संकाय, शिक्षाशास्त्र संकाय, व्यवस्थापन तथा स्नातकोत्तर तहसम्मकै सयौं विद्यार्थीले यसरी नै उत्तरपुस्तिका समावेश गर्न नपाउँदा परीक्षाबाट वञ्चित हुनुपरेको छ ।

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका धेरै विद्यार्थीले बडुले जस्तै समस्या भोग्नुपरेको छ । यद्यपि अनलाइन परीक्षा प्रणालीमा आएको प्राविधिक समस्याले के–कति विद्यार्थीले परीक्षा दिएर पनि उत्तरपुस्तिका बुझाउन सकेनन् भन्ने यकिन तथ्यांक क्याम्पससँग छैन । ‘पहिलो दिनको परीक्षामा उत्तरपुस्तिका अपलोड भइरहेको छैन भनेर हामीकहाँ १४ जना विद्यार्थी आएका थिए,’ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर पालले अनलाइनखबरसँग भने, ‘त्यसपछि पनि दैनिक १/२ जना त्यस्तै समस्या लिएर आउने गरेका थिए । हामीले तत्कालै विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई जानकारी गराएका थियौं । यो विषयमा परीक्षा नियन्त्रण कार्यालयको बैठक बसेर कुनै निकास निकाल्नुपर्ने हो तर अहिलेसम्म केही भएको छैन ।’

विद्यार्थीहरुले भने उत्तरपुस्तिका नै समावेश नभएका विषयको पुनः परीक्षा लिइनुपर्ने माग गरेका छन् भने विश्वविद्यालयले त्यस्ता विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने मुडमा देखिएको छ । यद्यपि निर्णय गरिसकेको अवस्था भने छैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.