सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाईदैं

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाउदैं छन् । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खाने चलन रही आएको छ । बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।’

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ । गौरापर्व यो क्षेत्रको ठूलो पर्व हो । गौरादेवीको प्रसाद ग्रहणका लागि घरबाहिर रहेकाहरु समेत घरमा आउने गरेका छन् ।’

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो  । भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । तर यो बर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयहरुले बताएका छन् ।

कोरोना भाईरसका कारण सामूहिक रुपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका २ का गणेशबहादुर बोहराले बताए । गौराको समयमा सामूहिक रुपमा ठाडो खेल,ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिने भएपनि स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेको छ  ।

सम्बन्धित

Comments are closed.