पत्रकारहरुले आचार संहिताको पुर्ण रुपमा पालना गर्नुपर्नेमा सरोकारावालाहरुको जोड

 पत्रकारहरुले आचार संहिताको पुर्ण रुपमा पालना गर्नुपर्नेमा कञ्चनपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । बिहीवार कञ्चनपुरको महेन्द्रनगरमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको संयोजनमा भएको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरुले आचारसंहिताको पुर्ण पालनामा गरेमा मात्रै सञ्चार माध्यमप्रति र पत्रकारहरुप्रति आम सर्वसाधारणको विश्वास बढ्ने बताएका हुन् ।

 नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधवसिंह धामीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत रहनु भएको थियो । कार्यक्रममा कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐर, कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख सुशीला चन्द र विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारको दायित्व र सञ्चार माध्यमको दायित्वको ज्ञानको कमीका कारण आचारसंहिताको पुर्ण पालना नभएको पाइने गरेको बताउनु भयो ।

 साथै उहाले प्रेस काउन्सिल नेपाल पत्रपत्रिकाको भेदभावरहित तरिकाले वर्गीकरण गर्ने पक्षमा रहेको बताउनु भयो । पछिल्लो समय अनलाईन र युट्युबको संख्यामा उल्लेख वृद्धि भएको बताउदै उहाले ती अनलाईन र युट्युब पनि दर्ता हुन र आचारसंहितामा आउन आवश्यक रहेको बताउनु भयो कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले लेख्ने बेला पत्रकारहरुले सोेचेर बुझेर मात्रै लेख्नुपर्ने बताउनु भयो । आफु मिडियामैत्री व्यक्ति भएको बताउदै उहाले लेख्नअघि धेरै कुरामा ध्यान दिएर लेख्न सकेमा त्यसले आमसमुदायमा सकारात्मक सन्देश जाने बताउनु भयो ।

 सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रत्येक संघ संगठन भित्र कमीकमजोरी हुने भएकाले ती कमजोरीहरुलाई न्युन पार्दै लैजानु पर्ने बताउनुभयो । साथै उहाले सुचनाका लागि हतार गर्दा कुनै बेला समस्या आउन सक्ने बताउनु भयो । कुनै घटनामा पुर्ण अनुसन्धान नभई सकिकनै सुचना बाहिर दिदा अनुसन्धान कार्यमा प्रभाव पर्ने भन्दै त्यो कुरा सञ्चार जगतले बुझ्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख सुशीला चन्दले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य कुरामा आधारित भएर गर्न पत्रकारहरुलाई अनुरोध गर्नु भयो । साथै उहाले कसैको अधिकारको लागि भन्दै धेरैको अधिकार मिच्न नहुने समेत बताउनु भयो ।

 कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधवसिंह धामीले पत्रकारितामा राजनीतिकरण भएको भन्दै पत्रकारिताबाट राजनीतिलाई बाहिर ल्याउनुपर्ने बताउनु भयो । कोरोना महामारीको समयमा आफुले पर्याप्त कार्य गर्न नसकेको स्वीकार गर्दै उहाले आगामी दिनमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पत्रकारहरुका लागि विभिन्न खाले कार्यक्रम ल्याउने र पत्रकारहरुको हकहितका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 कार्यक्रममा बोल्ने कञ्चनपुरमा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिता सम्बन्धी यस्ता खाले कार्यक्रम ल्याउनु सराहनीय कार्य भएको भएपनि यसको निरन्तरता हुन आवश्यक रहेकोमा जोड दिएका छन् । उहाहरुले प्रेस काउन्सिल र पत्रकार महासंघको प्रभावकारी समन्वय भएमा पत्रकारिता क्षेत्रमा रहेका समस्या र विकृतिहरु हटेर जाने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.