सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा फेरि विवाद

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्ति फेरि विवादमा तानिएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले विगतलाई निरन्तरता दिदैं गत महिना राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गरेको थियो । विश्वविद्यालय स्थापनापछि राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्त हुँदै आएका छन् ।

यस पटक नेकपा(एकीकृत समाजवादी) बाहेक अन्य सबै दल विश्वविद्यालयमा पदाधिकारी भएका छन् । नेकपा एमाले विभाजन भएर बनेको समाजवादीलाई नयाँ दल भएकाले पदाधिकारीमा उपेक्षा गरिएको छ ।

विश्वविद्यालय पदाधिकारी नियुक्तिपछि समाजवादी आवद्ध विद्यार्थी संगठन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको छ । विद्यार्थी संगठनले पदाधिकारी नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने अखिलका अध्यक्ष रमेश पन्तले बताए ।

विश्वविद्यालयका एक अधिकारीले राजनीतिक भागबण्डामा समाजवादीलाई पनि पदाधिकारी नदिनु राम्रो नभएको बताए । ‘अब त समाजवादी पनि दल भयो, सबैलाई दिँदा समाजवादीलाई पनि दिँदा के फरक पथ्र्यो त’ ती अधिकारीले भने,‘त्यसले दलहरुमा त हेला गरिएको भान परि हाल्छ ।’

पदाधिकारी नियुक्तिको क्रममा विश्वविद्यालयमा समाजवादी आवद्ध प्राध्यापक खुलेको नदेखिएपछि छलफल रोकिएको स्रोतको दाबी छ । नियुक्ति खुलेर पदाधिकारी आएपछि समस्या देखिएको स्रोत भन्छ ।

विश्वविद्यालयको पदाधिकारी भागबण्डामा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा समेटिएको छ । त्यसमा सबैभन्दा बढी भाग सत्तारुढ काँग्रेसले हात पारेको छ ।

विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रार दुबै काँग्रेस कोटाका हुन् । सबैभन्दा बढी भाग पाएर पनि काँग्रेसका प्राध्यापक संगठनभित्र असन्तुष्टि चर्किएको छ । संगठनका पूर्व अध्यक्ष कर्ण देब भट्टले संगठन छाडेका छन् ।

काँग्रेस कोटाबाट यस पटक सुरेन्द्र भण्डारी, डा. किसनदेब भट्ट, डा.हरिश चन्द्र भट्ट, डा. मदन सिह देउपा, हरि शंकर पन्त, गोबिन्द बल्लभ भट्ट र लोक बहादुर महरा पदाधिकारी भएका छन् । उनीहरुमध्ये इन्जिनियरिङ्ग संकायका डीन डा. किसनदत्त भट्टको दोस्रो कार्यकाल हो ।

भण्डारीले विश्वविद्यालयको योजना परिषद्मा जिम्मेवारी पाएका छन् । डा. देउपा शिक्षा शास्त्र संकाय र पन्त व्यवस्थापन संकायमा सहायक डीन भएका छन् ।

नेपाली भाषाका प्राध्यापक डा. भट्टले भाषा तथा संस्कृति अध्ययन केन्द्र निर्देशकको जिम्मेवारी पाएका छन् । यसैगरी काँग्रेस कोटाबाट गोबिन्द बल्लभ भट्ट विश्वास सह परीक्षा नियन्त्रक र लोक बहादुर महरा परीक्षा सह नियन्त्रक भएका छन् ।

सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले दुबै तीन÷तीन जना पदाधिकारी पाएका छन् । एमाले कोटाबाट डा. राजेन्द्र भट्ट पाठ्यक्रम विकास केन्द्रको निर्देशक भएका छन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपल प्रा. कुम्भ बहादुर चन्द र शिक्षा शास्त्र संकायको डीन डा. भवानी चलाउने भएका छन् । कैलालीका चलाउनेलाई लिएर एमालेभित्र असन्तुष्टि छ । अहिले चलाउनेलाई समाजवादी कोटाबाट नियुक्त गरिएको हल्ला पनि बाहिर आएका छन् ।

माओवादी केन्द्रबाट कर्ण बहादुर थापा, बीर बहादुर सिह र डा. गोविन्द विष्ट पदाधिकारी भएका छन् । उनीहरुमध्ये डा. विष्ट यस अघि शिक्षा शास्त्र संकायका डीन थिए । उनलाई अनुसन्धान निर्देशक बनाइएको छ । थापा कानुन संकायको डीन र सिह सह परीक्षा नियन्त्रक भएका छन् । विश्वविद्यालयमा कानुन संकाय नयाँ थपिएको हो ।

विप्लव नेतृत्वको नेकपा आवद्ध प्रेम सिह भाट मानविकी तथा सामाजिक शास्त्र संकाय सहायक डीन भएका छन् । उनी यस अघि सह परीक्षा नियन्त्रक थिए ।

विश्वविद्यालय स्थापनापछि एमाले आवद्ध प्रा.डा. जयराज अवस्थीले पहिलो कार्यकाल उपकूलति भएका थिए । त्यसपछि डा. भुषण श्रेष्ठ र अहिलेका उपकूलपति प्रा.डा. अम्मराज जोशी दुबै काँग्रेस कोटाका हुन् ।

विश्वविद्यालय काँग्रेस कोटामा प्रा. यज्ञराज पाठक रजिष्ट्रार छन् । यस अघि विज्ञान तथा प्रविधि संकायका डीन डा. भवानी चन्द ठकुरी, व्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी, मानविकी तथा सामाजिक शास्त्रका डीन प्रा. डा. मुकुन्द बल्लव कलौनी छन् । उनीहरु पनि दलीय भागबण्डामा नियुक्त गरिएका हुन् ।

अहिले विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्रा.डा. पूर्ण बहादुर चन्द छन् । विज्ञान क्याम्पस छाडेर आएपछि उनी विज्ञान संकायको डीन हुँदै सेवा आयोग पुगेका हुन् । उनी विज्ञान क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजनका विरोधी हुन् । एमाले कोटाबाट उनी अध्यक्ष भएका हुन् ।

सेवा आयोग सदस्मा प्रा. पदमकान्त जोशी छन् । विश्वविद्यालयको परीक्षा नियन्त्रकमा देब सिह नाथ छन् । सह नियन्त्रक भाट सहायक डीन भएपछि अहिले पद खाली छ । नाथ एमाले कोटाबाट नियन्त्रण भएका हुन् ।

विश्वविद्यालयको कृषि विज्ञान संकाय डीनमा प्रा.डा लाल प्रसाद अमगाई छन् । उनी माओवादी कोटाका हुन् । विश्वविद्याmयका उपकूलपति प्रा.डा. जोशीको अध्यक्षताको कार्यकारी परिषद्ले पदाधिकारी नियुक्ति गरेको हो ।

परिषद्मा कृषि विज्ञान प्रविधिका डीन प्रा.डा अमगाई, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशर बहादुर कुँबर र शिक्षकमध्ये तोयराज भट्ट सदस्य छन् । रजिष्ट्रार यज्ञराज पाठक परिषद्का सदस्य सचिव छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.