डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या

डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सोमबार बिहान जिल्लाको आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले परशुराम नगरपालिका वडा नम्बर १२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल (मृतकका आफन्त) को घरमा आइतबार राति मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको बताउनु भयो । मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उहालाई घाइते अवस्थामा डडेल्धुराको आलीताल गाउँपालिका वडा नम्बर ४ मा फालेका थिए । स्थानीयले सिजापति घाइते अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उहालाई जोगबुढा अस्पताल पु¥याए पनि उपचारकै क्रममा सोमबार उहाको ज्यान गएको थियो । सिजापतिको हत्यामा संलग्न भएको आरोपमा आशिष बराल, डडेल्धुराको आलीताल गाउँपालिका वडा नम्बर ८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका वडा नम्बर १२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले जानकारी दिनु भयो । सोधपुछका क्रममा उनीहरु तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर डडेल्धुराको आलीताल गाउँपालिका वडा नम्बर ४ मा छाडेर गएको बयान दिएका छन् । पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरुको साथी भएको खुलेको छ । सिजापति आइतबार मात्र डोटीबाट आफन्त बरालको घरमा आएको पाइएको प्रहरीको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.