कैलालीको लम्कीमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । सुदूर पश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल द्वारा सेभा नेपालको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका र मोहन्याल गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न लम्कीको गणेशपुर चोकमा यही फागुन २ गतेका दिन आँखा उपचार केन्द्र लम्की स्थापना गरि आँखा उपचार सेवा संचालन गरिएको हो । उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने छ । आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिने छ । नेपाल नेत्रज्याति संघ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्य प्रशाद पन्तको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रिय सभा सदस्य कमला वली र बिशिष्ठ अतिथि कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईबाट आँखा उपचार केन्द्रको संयुक्त रुपमा बिधिवत उद्घाटन गरिएको हो । नेपाल नेत्र ज्योति संघ कैलालीका सचीव लोक राज जोशीबाट संचालित उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रीय उपाध्यक्ष चक्र बहादुर सिंहले शुभकामना व्यक्त गर्नुका साथै गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राज पन्तले सबै सहभागीहरुलाई स्वागत गर्नको साथै आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकास पार्नु भएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधीहरु, नेपाल नेत्रज्योति संघ कैलाली जिल्ला उपसभापति र प्रदेश सचीव तथा विभिन्न संघ संस्थाका पदाधिकारी, कार्यालय प्रमुख र स्थानीय समाज सेवीहरुको सहभागिता रहेको थियो । कोरोनाको संक्रमणको जोखिमको कारणले गेटा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र टीकापुरबाट आँखा उपचार सेवा लिनबाट विगत लामो समय देखि बन्चित आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुनेछन् । साथै स्वास्थ्य बीमामा बीमितहरुको लागि उपचार केन्द्रबाट गेटा आँखा अस्पताल पठाई निःशुल्क आँखा परिक्षण, औषधि उपचार अप्रेशन तथा वर्षमा १ हजार रुपैया सम्मको चश्मा समेत निःशुल्क उपलब्ध गराईने छ । यस प्रदेशको अन्धोपन न्यूनीकरण तथा आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्र्तगत सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा संचालित १८ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर मार्फत सेवा पुर्याई रहेको छ ।
Comments are closed.